Saturday, October 9, 2010

संघात्मक प्रणाली गतिशील प्रक्रिया हो

नयाँ संविधान लेख्नको प्रक्रिया भइरहेको छ ! अहिलेको आम मानिसको सबै भन्दा बढी रुची नयाँ संविधानको स्वरूप कस्तो हुने हो भन्ने नै भएको छ ! दिनहुँ यस सम्बन्धमा विभिन्न गोष्ठी सम्मेलन, अन्तरक्रिया आदि हुने गरेका छन् !

राज्य पुनःसंरचनाको नयाँ बेलामा नयाँ राजसत्ताको निर्माण आम नागरिकको जनादेश बाट भएको छ ! आम नागरिकको माध्यमबाट गठित संविधान नै नयाँ राज्यसत्ताको आधार हो !यो संविधान ले देशको राज्य सत्ता र राजकीय शक्ति मा जनताको सर्वोच्चता स्थापित गर्ने छ र भावी संविधानले नै देशको राजनीतिक संरचना शासनप्रणाली पनि सुनिश्चित गर्नेछ ! यसका साथै सबै क्षेत्र समुदाय, वर्ग, जात जातिको नागरिकको अधिकारको रक्षा र समतामुलक राज्यको निर्माणका लागि मार्गप्रशस्त गर्नेछ !

बर्षौ देखि देशको शासन व्यवस्थामा एकाधिकार बनाएका एउटा खास वर्गबाटनेपाल जस्तो भौगोलिक र जनसंख्याको दृष्टिकोणबाटसानो मुलुकमा संघात्मक शासनप्रणालीको आवश्यकता नै हुदैन भन्ने विचार पनि सुनिएको छ ! तर विश्वको एकमात्र शान्ति क्षेत्र राष्ट्र स्विट्जरल्यान्ड संघात्मक हुनुको कारण नै युरोपको जातीय तथा भौगोलिक केन्द्र मानिन्छ ! स्विट्जरल्यान्डको जनसंख्या ७० लाख छ त्यसमा २० प्रतिशत विदेशी छन् ! ७० लाख जनसख्याका लागि एउटा संघ छ ! यसमा २६ क्यान्टोन र ३००० कम्युन छन् ! स्विस लोकतन्त्र संसारको सबै भन्दा पुरानो लोकतन्त्र र विश्वको ज्यादा लोकतान्त्रिक मुलुक हो ! संघीय सरकार जस्तै प्रत्येक क्यानटोनको आफ्ना निजि संविधान एवं नागरिकता सम्बन्धी कानुन छ ! राज्य सरकार र केन्द्रिय सरकारका बीच अधिकार को विभाजन अत्यन्त उपयोगी ढंगबाट गरिएको छ ! स्विट्जरल्यान्ड अस्तित्वमा राजनीतिक एकीकरणका मोडेल र कारणबाट होइन कि लोकतान्त्रिक राजनीतिक संस्थाको कारणबाट हो !

वास्तवमा स्विट्जरल्यान्ड संघात्मक व्यवस्थाको देश हो ! यस्तै बेल्जियम, संयुक्तराज्य अमेरिका, क्यानाडा, भारत,पाकिस्तान, अष्ट्रेलिया आदि संघात्मक व्यवस्था भएका देश हुन् ! अमेरिकामा दैधशासन व्यवस्था छ ! प्रत्येक राज्यको आफ्नो आफ्नो संविधान, नागरिकता, कानुन न्यायपालिका एवं प्रशासनतन्त्र छ ! संघीय संविधान अन्तर्गत केन्द्र एवं राज्यका बिचमा शक्ति वितरण गरिएको छ !

मित्रराष्ट्र भारत पनि एउटा संघात्मक देश हो र यस देशमा अहिले ३० राज्य छन ! ठुला-ठुला राज्यलाई साना-साना राज्यमा रुपान्तरण गर्ने क्रम धेरै अघिदेखि यहाँ चल्दै आएको छ ! केहि बर्ष अघि मात्र बिहार राज्यबाट झारखण्ड तथा उत्तरप्रदेशबाट उत्तरान्चल एवं मध्यप्रदेशबाट छत्तीसगढ राज्यको निर्माण गरिएको छ ! यहाँ अरु पनि राज्यको निर्माण प्रक्रिया चल्दैछ ! तात्पर्य के हो भने संघात्मक प्रणाली गतिशील प्रक्रिया हो ! प्रान्तहरुको विभाजन र एकीकरण समय, काल परिस्थितिको अनुकुल हुनु यसमा स्वाभाविक मानिन्छ ! भारतमा केन्द्रिय सरकार एवं राज्य सरकारको गठन हुन्छ ! केन्द्रिय सरकारको गठन लोकसभाले गर्दछ, जो राष्ट्रिय संसद हो ! यस्तै राज्य सरकारको गठन राज्य विधानसभाले गर्दछ, जो राज्यको संसद हुन्छ ! भारतीय संघ देशको जातीय, वर्गीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक, धार्मिक आदि विविधतालाई राष्ट्रिय सुत्रमा समायोजन गर्न सफल छ !

चीनको संविधानसभा प्रत्येक स्वशासित क्षेत्रको आफ्नो स्वशासनको रक्षा गरे र पूर्ण स्वतन्त्रता उपभोग गर्न जातीय स्वशासनको ग्यारेन्टी छ ! चीनमा पाँच स्वायत्त अन्चल, १०५ स्वायत्त जिल्ला, १४१ स्वायत्त इलाका तथा तीन हजार जातीय उपनगर को व्यवस्था छ !

उल्लिखित देशमा कतिपय देशको आवादी एवं क्षेत्रफल त नेपाल भन्दा पनि कम छ र सबै देश बहुभाषा, बहुभाषीय, एवं बहुसंस्कृतिको बाबजुद पनि संघीय शासनको कारणले राष्ट्रिय एकता बलियो भएको छ !

संघीय राज्यहरुमा अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, बोस्निया, ब्राजिल, क्यानाडा, इथियोपिया, जर्मनी, कोमोरोस, भारत, मलेसिया, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, रुस, दक्षिण अफ्रीका, स्पेन, स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्तराज्य अमेरिका, भेनेजुयेला आदि छन् ! यस्तै संघीय संक्रमणकालीन राज्यहरुमा इराक, सुडान, नेपाल संघीय राज्य हो ! प्रत्येक देशमा आफ्नै प्रकारको कार्यपालिका (सरकार) र व्यवस्थापिका संसद हुन्छ ! भारत, जर्मनी, अष्ट्रेलियामा एउटा संविधानलेदेश र प्रदेश सबैलाई सन्चालन गरेको छ ! अमेरिका स्विट्जरल्यान्ड जस्ता देशहरुमा प्रदेश र केन्द्रको अलग संविधान छ ! विश्वका २७ देशमा कुनै न कुनै किसिमका प्रादेशिक संरचना छन् !

अहिले राज्यको विकेन्द्रीकरण गर्ने आवश्यकतामा संसार एकमत छ तर संघियता का मुद्दा विवादस्पद छ ! एकतर्फ संघियताको समर्थन गर्ने मा विवाद छ ! प्रशासनिक रुपमा वा विधायिका संरचनाको माध्यमबाट गरिने विकेन्द्रीकरण राम्रो पद्धति हुने तर्क गर्नेहरु यसलाई सरल र लचकदार मान्दछन् ! अर्को तर्फ संघियताको समर्थक पनि भौगोलिक क्षेत्रको आधारमा संघ वा जाती, भाषा वा एतिहासिक क्षेत्रहरु, समस्याको समाधान, पूर्वाधार क्षमता र आर्थिक विकासको सम्भाव्यतामाथि जोड दिन्छन् !

संघीय संरचनाको अहिलेसम्मका विचारहरुमा यो मुलुकको भौगोलिकतालाई प्रमुखताका साथ उल्लेख गर्दै आइरहेको छ ! यसैले नेपालको भूगोल दृष्टिगोचर नयाँ स्वरुपको परिकल्पना बेइमानी हुनेछ ! नेपालको बहुधार्मिक, बहुसमुदायिक, बहुजातीय, बहुभाषिक देशको रुपमा पनि त्यतिकै वर्णन गरिएको छ ! यसैले यस देशको चतुर्दिक विकासका लागि संघीय प्रणालीलाई विकल्पका रुपमा देखिएको छ ! यसैले यँहाको भूगोलका साथै सामुदायिक जातीय, भाषिक, उपस्तिथीलाई पनि ध्यानमा राख्नु पर्दछ ! तर २४० बर्ष यता नेपाली समाजमा पनि त्यतिकै परिवर्तन भइसकेको छ ! मानिसलाई जातीय पहिचानको खाँचो छ ! क्षेत्रीय राज्यसत्ता आवश्यक छ !

नेपालमा क्षेत्रगत र जातिगत दुई प्रकारको संघ बनाउन बहस आएको छ ! संघको स्वरूप निर्माण गर्ने तत्वलाई बडो गम्भीरतापूर्वक लिनु पर्छ ! नेपाललाई जातीय आधारमा संघको निर्माण गर्नु परेमा यँहा असहमति र जातीय प्रतिस्पर्धाको समस्याको सामना गर्नुपर्ने हुन्छ ! संघियताको उधेश्य तथा राष्ट्रिय सन्दर्भ अनुसार महत्व फरक हुनसक्छ ! अनेक पक्षबाट संघियताको स्वरूप निर्धारण हुन्छ ! यी प्रश्नको संरचना निर्माणमा चयनका लागि खुला हुनुपर्ने र लचकता पनि दिइनुपर्नेछ, किनभने आधुनिक संघहरुले जनजाती वा भाषिक विविधतालाई व्यवस्थित गर्न व्यवस्था हुनु पर्ने आकांक्षा राखेका छन् ! जसलाई पूर्णतः उपेक्षा गर्न सकिदैन ! यसैले भौगोलिक क्षेत्रहरु अन्तर्गत जनजाती र भाषिक विविधतालाई समेत समेटिनुपर्दछ ! साथै संघीय प्रणालीमा स्वशासनको सबैभन्दा बढी महत्वपूर्ण स्थान हुने भएकोले मानिस, समुह र एकाइलाई वशासन प्राप्त हुनुपर्दछ !

जहाँसम्म संघीय एकाइको संख्याको प्रश्न छ ! अधिकांश राजनीतिक दलले क्षेत्रगत, जातिगत र भाषागत आधारमा प्रान्त/प्रदेशको संख्या निर्धारणको प्रश्न छ ! यो निश्चय पनि जटिल बिषय हो ! यो सत्य हो कि हामी न त मधेसको क्षेत्रीय धारणालाई उपेक्षा गर्नसक्छौ न त पहाडका जनजातिका तुष्टिकरणलाई रोक्न ! यस्ता अवस्थामा मात्र एउटै बाटो हाम्रो समू छ ! त्यो हो क्षेत्रीय, जातीय, भाषिक, आकांक्षाको फ्युजन ! यसको अर्थ क्षेत्रीयताका आधारमा संगठित राज्यमा जातीय प्रतिनिधित्व ! अर्थात क्षेत्रीयताका आधारमा राज्य, प्रदेश, प्रान्तहरुको निर्माण र राजकीय प्रणाली समानुपातिक जातीय प्रतिनिधित्वको प्रावधान !

प्रान्तीय विभाजनको दृष्टिकोण बाट हेर्दा प्रान्त / प्रदेशको संख्या अनावश्क संख्यामा र विभिन्न नाउबाट राखिने समस्या पनि सिर्जना हुनसक्छ ! नेपालको र अन्य मुलुकको भौगोलिक अवस्था र बनोट हेर्दा निकै फरक भएको पाइन्छ ! साथै नेपाल एउटा भूपरिवेष्ठित मुलुक पनि हो ! स्वाभाविकरुपमै मधेस (तराई) पहाड, र हिमाल, भू-भागमा भौगोलिक बनोट परापुर्वकालदेखि कायम छ ! यी स्वाभाविक भौगोलिक बनोट र नामाकरणमा असर पर्ने गरी प्रान्त/ प्रदेशको नामाकरण भए, यसको स्वाभाविकतामा ठुलो असर पर्नसक्छ ! यसैले तराई (मधेस), पहाड र हिमाल तीन प्रान्त (प्रदेश) कायम राखी जातीय र भाषिक पहिचान कायम राख्न तराईमा भाषिक आधारमा र पहाड र हिमालमा विभिन्न जातीय बाहुल्य भएको आधारमा स्वशासित इलाका कायम हुनुपर्नेछ !

यस्तै आदिवासी जनजाती, मधेसी, दलितहरुले, उठाउँदै आएको मुख्य मागहरुको नीतिगत पक्ष राज्यको नीति निर्माण र नीति निर्माणको सबै तह र प्रक्रियाहरुमा संघीय संरचना निर्माण, जाति, भाषा र क्षेत्र र अर्थात् जाति, क्षेत्रीय स्वशासनको आधारमा हुनु आवश्यक छ ! त्यसकारण संघीय संरचना आदिवासी जनजाती, मधेसी र दलित महिलाहरुको स्वशासनको संरचना र शासनसत्तामा उनीहरुको भूमिका कस्तो हुने सो पनि स्पष्ट व्यवस्था हुनु आवश्यक छ !

कार्यकारी अधिकारको प्रश्नमा राष्टपतिय प्रणाली वा प्रधानमन्त्रीत्व प्रणाली सम्बन्धमा विभिन्न विचार घोषणापत्र बाट आएको छ, त्यो पनि गहन बिषय हो ! यस्तै निर्वाचन प्रणाली र न्यायपालिकाको संरचना, आर्थिक र प्राकृतिक स्रोतको बाडफाड आदि प्रश्न पनि त्यतिकै महत्वपूर्ण छन् ! यी सबै को छिनोफानो निर्धारित समय भित्र गरि नयाँ संविधान को निर्माण गर्नु आवश्यक छ

1 comment:

  1. Madheshi Yuwa:

    1)"संघीय प्रणालीमा स्वशासनको सबैभन्दा बढी महत्वपूर्ण स्थान हुने भएकोले मानिस, समुह र एकाइलाई वशासन(swosashan) प्राप्त हुनुपर्दछ !" Please elaborate with an example what do you mean by "मानिस, समुह र एकाइलाई वशासन(swosashan) प्राप्त हुनुपर्दछ !" Ek bekti lai samaj ko bandhan swikaar garnu pardachha bhane samajlai rastra ko, tesaile tapaile sochnubhayeko swoshasan kasto ho?

    2) "क्षेत्रीयताका आधारमा राज्य, प्रदेश, प्रान्तहरुको निर्माण र राजकीय प्रणाली समानुपातिक जातीय प्रतिनिधित्वको प्रावधान !"
    Yedi rajakiya pranalima samanupatik jatiya pratinidhitwo ko prabdhan hune ho bhane, jatiya raajniti suru hunchha jasto lagchha malai, jun kunai pani samudaya or samaj or rastra ko samastigat bikash ko lagi lavdayek hudaina. K bhannu chha tapailai yo bishayama?

    ReplyDelete

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...