मधेशी हुनु आज गौरव नभई अभिशाप बन्न पुगेको छ, एउटा त्यस्तो अभिशाप जसबाट सबै टाढा बस्न
चाहन्छन्। आज मधेशीको आत्मसम्मान लुटिएको छ र मानवता पहाडीहरूको रंगभेद नीति र
अन्धराष्ट्रवाद रूपी अचानोमा राखिएको छ। चारैतिर अन्धकार छ, दासता छ, दबाइएको चित्कार छ, निसासिएको स्वतन्त्रता छ, पीडादायक अनन्त अत्याचार र अन्याय छ, तर मसँग आशा र विश्वास छ, स्वतन्त्रताका लागि ज्यानै दिने आँट छ, अजेय सत्य, सत्यनिष्ठता र लगाव छ, जसकाअगाडि सबै बाधाहरू तुक्ष्य र क्षणिकका
अलावा केही हुनै सक्दैनन्। मानवताको उदय, स्वतन्त्रताको फक्राइ, र आत्मसम्मानको पुनर्स्थापना — सबै असंदिग्घ र आसन्न छन्।
कसैको आत्मसम्मान कुनै सेनाको बुटले
नकुल्चियोस्, कसैको आवाज
बन्दुकको नालले बन्द नगरियोस्, कसैको स्वतन्त्रता क्रूर जंजीरमा नजकडियोस्, र कसैलाई आफ्नै भूमि र घरबाट ननिकालियोस् — यसमा मेरो पूर्ण विश्वास छ।
मार्टिन लुथर जस्तै मेरा पनि सपनाहरू छन्। म
त्यो दिनको पर्खाइमा छु जब मसँग मानव सरह व्यवहार गरिने छ, मधेशीलाई पनि मानवको गन्तीमा राखिनेछ, र उनीहरूसँग मानवको सम्मानसहित बाँच्ने
अधिकार हुनेछ। म त्यो दिनको पर्खाइमा छु जब मेरा सन्तानहरू आफ्नो शीर ठाडो पारेर
हिँड्न सक्नेछन्, उनीहरूलाई
नागरिकताबाट वंचित गरिने छैन, उनीहरूको मताधिकार खोसिने छैन, कालो छाला देखेर पहाडीहरूले उनीहरूलाई सडकमा
मर्ने गरी पिट्ने छैनन्।
म त्यो दिनको पर्खाइमा छु जब हाम्रा
सन्तानहरू स्कूल र लाइब्रेरी निर्धक्क जान सक्नेछन्, जब आफ्नै शिक्षकबाट उनीहरू वर्णभेदको शिकार
हुने छैनन्, र कालो छाला
भएकै कारणले उनीहरूलाई जागिरबाट वंचित गरिने छैन।
म त्यो दिनको पर्खाइमा छु जब हाम्रा आमा र
दिदीबहिनीहरू आफ्नो घरमा सुरक्षित महशूस गर्न सक्नेछिन्, जब कोही आफ्नो घर हुँदा-हुँदै बेघर बनाइने
छैनन्, जब कोही
आफ्नै भूमिमा भूमिहीन हुन बाध्य बनाइने छैनन्। म त्यो दिनको पर्खाइमा छु जब
मधेशीहरूको शीरमाथि वर्षाबाट जोगाउन सक्ने छाना हुनेछ, जब मधेशीहरू आफ्नो फसलले सरकारी खजाना भरेर
पनि भोक-भोकै मर्न बाध्य हुने छैनन्। म त्यो दिनको पर्खाइमा छु जब कसैलाई भोकै
सुत्नुपर्ने छैन, कसैलाई नाङ्गै
रहनुपर्ने छैन, र कसैलाई
स्कूल र हस्पिटलको सेवाबाट वंचित हुनुपर्ने छैन। म त्यो दिनको पर्खाइमा छु जब
आफ्नो आङमा लुगाफाटा नभएर मधेशीहरू जाडोले कठाङ्ग्रिएर मर्ने छैनन्।
म त्यो दिनको पर्खाइमा छु जब हाम्रा
दिदीबहिनीहरू दाइजोका कारण विवाहबाट वंचित हुने छैनन्, कुनै पनि महिलालाई बोक्सीको आरोपमा उत्पीडित
गरिने छैन, कुनै पनि
बच्चालाई तिर्खा लाग्दा उसको जात सोधिने छैन। म त्यो दिनको पर्खाइमा छु जब फरक-फरक
जातका लागि फरक-फरक कानून हुने छैन, जब कोही पनि अछुत हुनै छैन र सबै
आत्मसम्मानपूर्वक जीवन व्यतीत गर्न सक्नेछन्।
म त्यो दिनको पर्खाइमा छु जब कुनै मधेशीलाई
धोती, काले, मर्स्या जस्ता शब्दहरूले सास्ती दिइने छैन, जब मधेशीलाई ग्यास च्याम्बरभित्र हालेर
मेटाउने चेष्टा गरिने छैन, जब नेपाली
नाजीहरूसँग मधेशीलाई सिध्याउने कुनै सामर्थ्य हुने छैन।
म त्यो दिनको पर्खाइमा छु जब मधेशीहरू दास
हुने छैनन्, कमैया र
कम्लहरी हुने छैनन्, जब नेपाली
उपनिवेश र क्रूरताको अन्त्य हुनेछ, यो भूमि स्वतन्त्र हुनेछ र हामी
स्वतन्त्रताका श्वास लिन सक्नेछौं। म त्यो दिनको पर्खाइमा छु जब कसैको आवाजलाई
दबाइने छैन, कसैको
अधिकार हनन गरिने छैन।
म त्यो दिनको पर्खाइमा छु जब विश्वका अरू
देशहरू, नियोगहरू, कुटनीतिज्ञहरू र नागरिकहरूका आँखामा हाम्रो
मानवको दर्जा हुनेछ। म त्यो दिनको पर्खाइमा छु जब मधेशी शब्दले आफ्नो सम्मान र
गौरव पुन: प्राप्त गर्नेछ, र कोही
मधेशी आफ्नो पहिचानबाट लज्जित हुने छैनन्। म त्यो दिनको पर्खाइमा छु जब मधेशीलाई
मधेशी हुनुमा गौरव हुनेछ, आफू हुनुमा
आत्मसम्मानको बोध हुनेछ।
आत्मसम्मान विनाको यो जीवन हजारौं मृत्यु
समान भयानक लाग्दछ, मृत्युभन्दा
कैयौं गुणा खराब लाग्दछ — सम्भावितस्य
चाकीर्तिर्मरणादतिरिच्यते (गीता २/३४) । जसले जीवन बलिदान गरे, यशस्वी भएर गए। यदि मलाई बाँच्नु छ भने मैले
आफ्नो आत्मसम्मानका लागि लड्नै पर्छ, आफ्नो स्वतन्त्रताका लागि लड्नै पर्छ।
स्वर्गको दासताभन्दा मरूभूमि मै भए पनि
स्वतन्त्रता मेरो लागि प्यारो छ। स्वतन्त्र भूमिको नागरिक हुनुमा परतन्त्र देशको
राजा हुनुभन्दा कैयौं गुणा बढी सम्मान छ। रामवरण यादव र परमानन्द झा त्यसका उदाहरण
हुन्, देशका
राष्ट्रपति र उपराष्ट्रपति भएर पनि तिनीहरूको स्थान कुकुरभन्दा पनि निकै नै तल छ, अछुतभन्दा पनि खराब छ।
तर मधेशको स्वतन्त्रतासँगै त्यो बदलिनेछ।
स्वतन्त्र मधेशमा हरेकले स्वतन्त्र नागरिक हुनुको असीमित गौरव पाउनेछन्, कसैको राष्ट्रियतामाथि फेरि प्रश्न चिन्ह खडा
गरिने छैन, कसैलाई
राष्ट्र प्रतिको बफादारी साबित गरिराख्नु पर्ने आवश्यकता हुने छैन, रंगभेदको अन्त्य हुनेछ, कसैलाई कालो छालाका कारणले भेदभाव गरिने छैन, र पहाडीहरूको गुलामी गरिराख्नुपर्ने आवश्यकता
हुने छैन। जीवनभरिमा एक दिन मात्र भए तापनि यदि आत्मसम्मान पूर्ण त्यस्तो जीवन म
आफू जन्मेको भूमिमा बिताउन पाएँ भने म धन्य-धन्य हुनेछु, र शान्तिले म आफ्नो देहत्याग गर्न सक्नेछु।
तसर्थ लक्ष्य प्रष्ट छ, मधेशीहरूको अधिकार तथा आत्मसम्मान र मधेशको
स्वतन्त्रता। र, लक्ष्य प्राप्तिका
लागि स्पष्ट रूपमा सशस्त्र-निशस्त्र, राजनैतिक-गैरराजनैतिक, सरकारी-गैरसरकारी, केपिटलिस्ट-कम्युनिष्ट जस्ता अनेकौं समूहहरू
छन्, हुन सक्छन्।
तर म केवल दुई समूह मात्र देख्छु — स्वतन्त्रताका लागि जीवन बलिदान गर्न सक्ने र
नसक्ने, र मेरो
विश्वास केवल पहिलो समूहसँग छ। भित्र र बाहिरका नेता र समूहहरूबाट सदियौंदेखि
ठगिएका मधेशीहरूका लागि अब जीवन बलिदान गर्ने तत्परता मात्र निस्वार्थताको परिचायक
हुन सक्छ, बाँकी सबै
कुनै न कुनै तरिकाबाट स्वार्थी नै छन् र तिनीहरू बेकार छन्। म तयार छु, त्यस निस्वार्थ निर्णायक यात्राका लागि। म
तयार छु लड्न, अधिकार र
आत्मसम्मानका लागि, स्वतन्त्रता
र लोकतन्त्रका लागि। सबै किसिमका बाटाहरू मेराअगाडि छन्। रंगभेद र अन्याय विरुद्ध
लड्ने निर्णय मेरो हो, निशस्त्र वा
सशस्त्र — त्यो निर्णय
उनीहरूको हुनेछ।