Sunday, January 6, 2019

डा. सी.के. राउतको अविलम्ब निशर्त सकुशल रिहाई र जीवन रक्षार्थहेतु अपिल


महदेवा-२, सप्तरी जिल्लामा जन्मेहुर्केका तथा बेलायतको क्यामब्रिज युनिवर्सिटीबाट पी. एच. डी. गरी अमेरिकामा वैज्ञानिक समेत रही सक्नु भएका डा. सीके राउत विगत केही वर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक भई अहिंसात्मक एवं शान्तिपूर्ण मार्गद्वारा सम्पूर्ण मधेश तथा मधेशीको हकहित एवं स्वतन्त्रताकोलागि बैचारिक अभियान चलाउँदै आएको कुरा सर्वविदितै छ । वहाँका मधेश को इतिहास’, ‘मधेश स्वराजवैरागदेखि बचावसम्म (आत्मकथा)लगायतका किताबहरू पनि प्रकाशित छन् । डा. राउतको गतिविधि र निजले दिएको अभिव्यक्तिको विषयलाई लिएर नेपाल सरकारले वहाँलाई पटक पटक पक्राउ गर्दै आएकोमा बालबच्चाको शिक्षादीक्षा अवरूद्ध हुनुको साथै सम्पूर्ण परिवारिक जीवन नै अस्तव्यस्त एवं अत्यन्त कष्टकर हुन पुगेको छ । सम्मानित विशेष अदालत र संविधान एवं ऐनकानुनका सर्वोच्च व्याख्याता सम्मानित सर्वोच्च अदालत समेतले डा. राउतका गतिविधीहरू राज्यद्रोह वा राज्यविप्लव होइन भनेर स्पष्ट भनि सकेपछि राज्यकै प्रहरीले वा अन्य कसैले डा. राउतलाई राज्यद्रोही वा राज्यविप्लवको बिल्ला भिडाउनु सम्मानित सर्वोच्च अदालतको अपहेलना मात्र नभएर कानुनी राज्यको उपहास पनि हो ।
डा. सी.के. राउत

नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेका डा. राउतको मौलिक तथा कानूनी हक कुण्ठित गरी अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको मान्यता समेतको विपरित हुने गरी विगत केही समयदेखि राज्यले वहाँविरूद्ध घोर दमनकारी नीति अख्तियार गरेको देखिन्छ । नेपाल सरकारको कुनै काम तथा प्रक्रियाहरूमासमेत वाधाअडचन नपुर्याई लोकतान्त्रिक विधि र प्रक्रिया अन्तर्गत शान्तिपूर्ण एवं अहिंसात्मक तरीकाले आफ्ना विचारहरू सार्वभौम जनतामाझ राख्न खोज्दा राज्यको तर्फबाट मधेशका राजनीतिक मुद्दाहरुलाई दबाउने र विमतिका सबै आवाजलाई निर्मूल पार्ने नीतिअनुरूप वहाँलाई पटक पटक फँसाउने गम्भीर षडयन्त्र हुँदै आएको कुरा हामीले अनुभूत गरेका छौं । कुनै मुद्दामा आफ्नो नाम परेको औपचारिक वा अनौपचारिक स्रोतबाट थाहा पाउने वितिकै आफैं अदालतमा उपस्थित भएर अदालती कारवाही सहजरुपमा अगाडी बढाउन सहयोग गर्दै आएको, कहिले पनि अदालतले जाहेरी पूर्जीसमेत जारी गर्नु नपरेको अवस्था हुँदाहुँदै पछिल्लो समय असोज २१ गते रौतहट जिल्ला अदालतमा अघिल्लो मुद्दामा तारीख लिई फर्कनेक्रममा अदालत परिसरभित्रै बाट डा. सी. के. राउत सहित उनको साथमा रहेको उनकी ४ बर्षीय नाबालिका छोरीलाई समेत प्रहरीले पक्राउ गरी ६१ दिन लामो गैरकानूनी हिरासत पछि गत मंसिर २० गते रौतहट जिल्ला कारागार चलान गरेको छ । नेपाल सरकारले यस अघिपनि वहाँलाई १८ चोटी भन्दा बढी पक्राउ गरी वहाँविरूद्ध लगभग एक दर्जन जति मुद्दाहरू दर्ता गरिसकेका छन । हालसम्म पाँचवटा मुद्दामा अदालतबाट सफाई पाईसकेको अवस्था छ । यसरी सक्षम, स्वतन्त्र र गरिमामय न्यायलयबाट पटक पटक सफाई पाएतापनि स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौ गैरकानुनी थुनामा राखी यातना दिने र गलत मनसायका साथ झुठ्ठा मुद्दाहरू लगाउने असफल प्रयास हुँदै आएको छ । नेपाल सरकारका यी तमाम क्रियाकलापहरू घोर असंबैधानिक, अलोकतान्त्रिक, दुषित र प्रवृत भावनाबाट ओतप्रोत स्वेच्छाचारी एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको साथै नेपालको वर्तमान संवैधानिक र कानूनी व्यवस्थाको अतिरिक्त नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको समेतको विपरित रहेको कुरा पुन: स्मरण गराउन चाहन्छौं । विचारको प्रतिवाद विचारबाटै गर्नु पर्नेमा फरक विचारलाई दबाउन जसरी प्रहरीप्रशासन लगायत सम्पूर्ण राज्यसन्यत्रको दुरूपयोग भईरहेको छ त्यो अत्यन्त निन्दनीय र आपतिजनक छ । लोकतान्त्रिकमा व्यवस्थामा नागरिकहरूबाट राज्यव्यवस्थाप्रति असन्तुष्टि र आक्रोसको रूपमा अभिव्यक्त हुने हरेक किसिमका विचारहरुलाई दमन नगरी अत्यन्त संयमित भई राजनितिक रूपबाटै नागरिकमा देखिएका तमाम निराशा र वितृष्णालाई मेटाई राज्यप्रति आशा र भरोशा जगाउन सकिन्छ । तर फरक विचार राखेकै कारण डा. राउतसँग एक पटकपनि कुनै वार्ता-छलफल्लै नगरी राज्य क्रुर दमनमा उत्रिनु र वहाँलाई खुल्ला दर्जनौ भौतिक कारवाहीको साथैसाथै ज्यान मार्ने धम्कीहरूसमेत आउँदा सरकार मौन बस्नुले हामी थप शशंकित र चिन्तित भएका छौं । हाल मुलुकमा दुई तिहाईको बलियो लोकतान्त्रिक सरकार रहे तापनि लोकतन्त्र तथा कानुनी राज्यको अनुभुत गर्न सक्ने अवस्थाको निर्माण हुनसकेको छैन ।हिरासतभित्रै लामो समयदेखि आफ्नो स्वास्थ्य उपचारको माँग गर्दै आएको भएतापनि गत पुष १८ गते मात्र डा. राउतलाई गौर कारागारबाट काठमाण्डौंको भद्र कारागारमा स्थानान्तरण गरिएको छ । उपचारको लागि काठमाण्डौं सरूवा गरिएको भएतापनि राज्य वहाँको उपचारमा गम्भिर हुनुभन्दा विभिन्न किसिमका मानसिक एवं शाररिक यातना दिनेतिर बढी केन्द्रित देखिन्छ । संविधान प्रदत्त वाक स्वतन्त्रतापूर्वक बाँच्ने नागरिक अधिकारको संरक्षण गर्ने दायित्व राज्यको रहेपनि फरक विचार रहेकै कारण हिरासतमा लिनु वा एक जना निहत्था, निर्दोष नागरिकलाई दुःख दिनु नितान्त अनुचित एवं घृणित कार्य हो ।
तसर्थ सबै किसिमका दमनकारी क्रियाकलापलाई तत्काल बन्द गरी डा. राउतको संविधानले प्रत्याभुत गरेको सम्मानपूर्वक वाच्ने मौलिक हक एवं मानव अधिकारको संरक्षण समेत गर्दै वहाँको अविलम्ब विनाशर्त सकुशल रिहाईकोलागि पहल गरिदिनु हुन सम्पूर्ण मानव अधिकारवादी संघ-संस्था, नागरिक समाज, देश-विदेशका पत्रकार, कानून व्यवसायी, राजनैतिक पार्टी, वुद्धिजीवि, विद्यार्थी, अन्तर्राष्ट्रिय नियोगलगायत सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गर्दछौं । भद्र कारागारमा हाल वहाँको स्थितिको अनुगमन गरिदिनुहुन साथै चिकित्सकको सुझाव अनुसार सहजरूपमा स्वास्थ्य उपचारको लागि पनि गम्भिर पहल गरिदिनु हुन सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।

--------------------
डा. जय कान्त राउत
एवं समस्त राउत परिवार
सम्पर्क: ९८४१३००५४०
ईमेल: jkraut77@gmail.com

No comments:

Post a Comment

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...