Tuesday, April 25, 2017

Letter of Dr. CK Raut from custody प्रहरी हिरासतबाट गृहमन्त्रीलाई डा. सी...



डा. सीके राउत द्वारा नेपाली गृहमंत्री निधीजी लाई पुष्प-पत्र
सम्माननीय गृहमंत्री निधीजी,
नमस्कार !
तपाईंसँग मेरो व्यक्तिगत चिनजान न भएतापनि तपाईंको पिताजी गाँधीवादी नेता महेन्द्र नारायण निधीकै आदर्श र संघर्षलाई पछ्याउँदै गरेको एउटा साधारण नागरिकको हैसियतमा प्रहरी हिरासतबाटै केही लाइन लेख्दैछु | विगत ६५-६६ दिन देखि हिरासतमै कड़ा निगरानीमा रहेको हुनाले बाहिरका गतिविधी तथा खबरहरूका बारेमा प्रायजसो त अनभिज्ञ नै छु, तर प्राप्त सिमित जानकारी अनुसार - म करीब १ वर्ष अगाड़ी जनकपुर सरेपछि तपाईं त्यसबाट राजनैतिक रूपमा असुरक्षा बोध गरेर नै जनकपुरबाट मलाई जसरी पनि धपाउनका लागि नेपाल सरकारको पुरै सेना प्रहरी र कोर्ट कचहरी सबै लगाएको बुझिएको छ | यही मंसीर १० गते जनकपुरमा हाम्रो जनप्रदर्शनमा बढ़दो सहभागिता देखेर भएको प्रहरी दमन, मंसीर १९ गते विवाहपञ्चमीको मेलामा तीर्थालुलाई पानी खुवाउँदा तपाईंकै आदेशमा भएको तोड़फोड़ र आक्रमण, मंसीर २१ गते जानकी मन्दिर परिसर बाहिर सर-सफाई गर्दा एक दर्जन भन्दा बढी समर्थकलाई हिरासतमा राखि मुद्दा दायर गरी गरिएको अमानवीय दमन, जनकपुरमा डेरा दिएको घरबेटीलाई प्रहरी लगाएर धम्काई यातना दिई डेरा खाली गर्न लगाएको घटना, माघ २० गते जनकपुरको डेरामाथि नै पहिलो पटक छापा मारी दुर्व्यवहार गर्दै गिरफ्तार गर्नु यसै कुरा तिर संकेत गर्दछ | बिभिन्न राजनैतिक सभा-सम्मेलनमा तपाईंले हामी विरूद्ध खुलेर दिने गरेका आक्रमक अभिव्यक्तिहरू तथा बिभिन्न सुरक्षाबैठकमा तपाईंले हामीलाई दमन गर्न दिने गरेका निर्देशहरू पनि बिभिन्न पत्रपत्रिका मार्फत पढ़दै आएको छु, जसमा सुरक्षा अधिकारीहरूले मोर्चा वा अन्य घटकबाट खतरा रहेको ब्रिफिंग गर्दा पनि "हैन, सीके राउतबाट नै सबभन्दा बढ़ी खतरा छ | उसैलाई हदै सम्मको कारबाही गर्नु पर्छ" भन्ने आशयका निर्देश दिंदै आएका समाचार पनि अवगत हुँदै आएको छ |
सबभन्दा पहिले तपाईं जस्तो राजनीतिका प्रकाण्ड हस्ती र शक्तिशाली बाहुवलिले म जस्तो एउटा साधारण नीरीह प्राणीसंग कुनै राजनैतिक असुरक्षाबोध गर्नु पर्ने कुनै कारण थिएन | मैले जनकपुर चयन गर्नुको कारण राजनैतिक भन्दा बढी अध्यात्मिक हो | जनकपुर र लुम्बिनीको आश्रमस्थलमा आश्रय लिएर अध्यात्मिक चिन्तन, ध्यान र प्रचारप्रसार गर्ने आफ्नो चाहना ३-४ वर्ष अगाड़ी नै सार्वजनिक भएको हो, पछिल्लो समयमा अष्टावक्रमहागीताको प्रचारप्रसार गर्ने तिर आफ्नो झुकावलाई साकार पार्न जनकपुर भन्दा उपयुक्त अर्को कुन ठाउँ हुन्थ्यो होला ॽ न त राजविराजमा बस्दा म स्थानीय राजनीतिमा कुनै हस्तक्षेप गरेको थिएँ, न त जनकपुर आएर नै यहाँको स्थानीय राजनीतिमा मेरो कुनै चासो रहेको छ | तसर्थ म बाट तपाईंलाई असुरक्षाबोध हुनुपर्ने कुनै कारण थिएन | तैपनि तपाईंले मलाई जनकपुरबाट भगाउन पुरै राज्य-संयन्त्र लगाई दिनुभयो, यहाँसम्म कि मेरो प्रिगनेंट वाइफ तथा अबोध ६-वर्षे र २-वर्षे बच्चाहरूको दानापानी समेत बंद गरिदिनु भयो, झिनो रकम भएको मेरो बैंक अकाउन्ट आफ्नो पावर प्रयोग गरी रोक्ने आदेश दिएर | र जनकपुर न छाड़े सम्म मलाई एउटा मुद्दापछि अर्को मुद्दामा फँसाउँदै चक्रब्यूहमा पेल्दै जाने भनेर अठोठ गरेरै लाग्नु भएको कुरा अनेकौं जिल्लामा मुद्दा दर्ता गरेर तपाईंले साबित गरिसक्नु भएको छ | तैपनि यसलाई मैले व्यक्तिगत भन्दा पनि प्राकृतिक नियमको रूपमा नै लिएको छु | साना नीरीह प्राणीलाई ठूलो शक्तिशालीले खाने भन्ने कुरा शास्वत नै हो | त्यति मात्रै नभएर परपीड़ाबाट नै सुख प्राप्त गर्ने मानव पनि हुन्छन भनेर बुझी यसलाई सामान्य रूपमा नै लिएको छु | किनकि धेरै अगाडी नै मैले बुझेको एउटा सानो कुरो के हो भने यस ब्रह्माण्डबाट म जस्ता झीना मसीना प्राणीहरु समाप्त भएर पनि केही फरक पर्देन, म त के सिङगो पृथ्वी नै ध्वस्त हुँदा पनि ब्रह्माण्डलाई केही फरक पर्देन, यो यति विशाल छ । यहाँ अमर हुन को आएको छ र ? कि मैले चिन्ता गर्ने !
यो पत्रलाई कुनै अन्य अर्थमा वा कुनै लाभको आशाले लेखिएको भनेर न लिई दिनु होला, त्यसो भए म सार्वजनिक रुपमा किन लेख्थे र ? खासमा बच्चा देखि नै ‘लभ-लेटर’ लेख्ने बानी भएर मात्रै हो । मेरो जीवनलाई ध्वस्त पार्न पूरै प्रहरी-प्रशासन लगायतका सम्पूर्ण शक्ति लगाउने महत्वपूर्ण व्यक्तिका नाममा मैले १-२ लाईन पनि नलेख्दा तपाईलाई इतिहासको पानामा अन्याय गरे जस्तो हुन्छ भनेरै लेखेको हुँ ।
हामी जस्ता नीरीह प्राणीले त्यो बाहेक अरु के नै गर्न सक्छ र ? गाँधीले पनि हिटलरलाई पत्र लेख्ने बाहेक के पो गरे र ? खासमा २ वर्ष अगाडी देखि नै प्रहरी प्रशासनले हामीमाथि गर्दै आएको दमनको प्रत्युत्तरमा हामीले फूल दिदै आएका छौं । तपाईले हामीमाथि गर्नु भएको चरम दमनको लागि भौतिक रुपमै गुलाब को फूल पठाउन नसकेको कारणले यो शब्दरुपी पुष्प पठाउँदै छु , स्विकार गर्नु होला ।
तपाईको सुस्वास्थ्य , प्रगति एवं शांतिको लागि प्रार्थना गर्दे, तपाईको शुभचिन्तक
- सी. के. राउत
२०७३ चैत ३१ गते (लहान हिरासत, सिरहा)

No comments:

Post a Comment

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...